सभामुखको भूमिकाप्रति रास्वपाले उठायो प्रश्न २४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख देवराज घिमिरेको भूमिकाप्रति ...
सभामुखको भूमिकाप्रति रास्वपाले उठायो प्रश्न
रास्वपाले यहीँनेर सभामुखको भूमिका गलत भएको भनी प्रश्न उठाएको हो । एमालेका सांसदले बोलेपछि बाँकी प्रतिपक्षी दलहरुलाई बोल्न समय नदिँदा एमाले सांसदले बोलेको विषय नै सबै प्रतिपक्षी दलहरुको हो भन्ने भाष्य स्थापित हुन गएको र यस खाले वातावरण बनाउन सभामुखले भूमिका खेलेको रास्वपाको टिप्पणी छ ।
‘एमालेका सांसदले बिचार राख्नुभयो । त्यसपछि सोझै सत्तापक्षमा लगेर राखिदिनुभयो र यस्तो भाष्य निर्माण गर्न खोजियो कि- एमालेले बोलिसकेपछि सबै प्रतिपक्षको त्यही नै आवाज हो’ रास्वपा सभापति लामिछाने दोहोर्याउँछन्, ‘सभामुखले आ आफ्ना मुद्दाहरु प्रतिपक्षलाई राख्न दिने हो नि । तर, प्रमुख प्रतिपक्षले बोलिसकेपछि सोझै सत्तापक्षमा लगेर हामीलाई बोल्न दिइएन ।’
संसदमा नयाँ र चौथो ठूलो दल छ भन्ने हेक्का राख्न सभामुख र संसदमा रहेका दलहरुलाई लामिछानेको आग्रह छ । उनी भन्छन्, ‘संसदमा रास्वपा पनि छ । जनताले नयाँ जनमत दिएर पठाएको पार्टी छ भन्ने हेक्का संसदलाई रहोस् । संसदमा रहेका सबै दलहरुलाई पनि रहोस् ।’
‘कहाँनेर हामी एमालेसँग छौं ?’
रास्वपा सभापति लामिछाने संसदमा एउटा दल मात्रै प्रतिपक्षीमा नरहेको बताउँछन् । प्रतिपक्षी दलहरुका मान्यता, प्राथमिकता र पृष्ठभूमि फरक फरक रहेको बताउँछन् । यस आधारमा सबै प्रतिपक्षी दलहरुको आवाज फरक फरक हुने उनको भनाइ छ ।
तथापि, प्रतिपक्षी दलहरुका विषयमा साझा विषय हुन सक्ने उनको भनाइ छ । यसबारे उनको ब्याख्या छ, ‘प्रतिपक्षहरुबीच साझा विषयहरु हुन सक्छन् । त्यसको पनि केही ठाउँहरु हुन्छन् । त्यसमा आ आफ्नो ब्याख्याहरु हुन्छन् । तर, हामीलाई त्यस( प्रधानमन्त्रीको अभिव्यक्तिबारे बोल्ने) कुनै अवसरै दिइएन ।’
प्रतिपक्षमा रहेको भएता पनि एमालेसँग रहेको रुपमा नबुझन उनको आग्रह छ । रास्वपा सभापति लामिछाने प्रश्न गर्छन, ‘प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा कहाँनेर हामी एमालेसँग छौं ?’ प्रधानमन्त्रीको अभिव्यक्तिका सन्दर्भमा रास्वपाले स्पष्टीकरण माग गर्दै आएको छ । यस विषयमा एमालेले राजीनामा नै माग गरेर संसद चल्न दिइरहेको छैन ।
अन्य धेरै विषयमा एमाले र रास्वपा फरक फरक ठाउँमा रहेको पनि उनको जिकिर छ । ‘एमालेको उम्मेदवार राष्ट्रपतिमा हुनुहुन्थ्यो, हामीले भोट हाल्यौं त ? हालेनौं । एमालेको उम्मेदवार उपराष्ट्रपति हुनुहुन्थ्यो । हामीले भोट हाल्यौं त ? हालेनौं । हामी कहाँनेर एमालेको ठाउँमा छौं ?’
सरकारलाई समेत गुण र दोषका आधारमा समर्थन र खबरदारी गर्दै आएको सभापति लामिछानेको भनाइ छ । सरकारले भ्रष्टाचारीहरुलाई समात्न थालेपछि समर्थन गरेको उल्लेख गर्दै उनी थप्छन्, ‘संसदको मर्यादालाई, गरिमालाई जोगाउनुपर्ने हुन्छ । यसका लागि सबै (सभामुख र राजनीतिक दलहरु) जिम्मेवार हुनुपर्छ ।’
संसदमा जारी रहेको अवरोध खुलाउने विषयमा सभामुखसँग कुरा गर्न नपाएको पनि उनको गुनासो छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग कुरा भएको उल्लेख गर्दै उनी थप्छन्, ‘सभामुखसँग कुरा गर्न पाएको छैन। गलत (संसदमा अवरोध, अवरोध खुलाउने विषयमा तीन पार्टीका शीर्ष नेताबीच मात्रै संवाद) भएको छ । यसरी जान सकिँदैन। यसरी जान हुँदैन ।’

No comments