हुनेवाला श्रीमानज्यू, बिहेपछि मलाई पनि तपाईं भन्नु ल ! हाम्रो समाजमा ज्वाइँलाई ‘ज्यू हजुरी’ र ‘मेजमानी’ गरिन्छ । तर बुहारीलाई ? बुहारीलाई...
हुनेवाला श्रीमानज्यू, बिहेपछि मलाई पनि तपाईं भन्नु ल !
हाम्रो समाजमा ज्वाइँलाई ‘ज्यू हजुरी’ र ‘मेजमानी’ गरिन्छ । तर बुहारीलाई ?
बुहारीलाई तँ तडाक । अलि शिक्षित घरमा भए ‘तिमी’ सम्म भन्छन् । व्यवहार त कति फरक कति !
बुहारीलाई मेजमानी ! याे शब्द सुन्दा तपाईंलाई अचम्मै लाग्यो होला । किनकि, हाम्राे समाजमा यस्ताे हुँदैन ।
बरू माइतीमै ज्वाइँको खातिरदारीमा सहभागी गराइन्छ । भात पकाउन लाइन्छ, घिउ खार्न लाइन्छ ।
म ग्रामीण क्षेत्रकाे नभएर शहर भनिएकाे क्षेत्रमै भइरहेकाे विभेदकाे कुरा गर्दै छु ।
समाजशास्त्र पढिरहेकी साथी कृतिका एकदिन सासुसँग विवाद गरेर क्याम्पस आई । यसो कुरा बुझ्दा सासुसँग उसको झगडा श्रीमान् विकासलाई गर्ने गरेकाे सम्बोधनका कारण परेकाे रहेछ । विकास र कृतिकाले तीन महिनाअघि मात्र प्रेम विवाह गरेका हुन् । उसले सधैं विकासलाई तिमी भन्थी । विकासले पनि उसलाई तिमी नै भन्छ ।
उनकी सासु अनपढचाहिँ होइनन् । कुनै बेलाकी शिक्षिका हुन् उनी । घरमा छोरालाई बुहारीले तिमी भन्ने गरेकाेप्रति आमै चुपचाप नै बस्थिन् । तर पाहुनाका अगाडि 'तपाईं' भन्न उनी दबाब दिने गर्थिन् । कृतिका यस्तो नाटकका लागि तयार भइन । विकाससँग गुनासो गर्दा उसले ‘जेसुकै गर है’ भन्दिन्थ्याे । उसलाई कृतिकाले गर्ने सम्बोधनसँग कुनै मतलव थिएन ।
तर यसपल्ट आमैले कृतिकाले छोरालाई ‘तिमी’ भनेको मन नपरेको बताइछन् । कृतिकाले भनिछे- तपाईंको छोराले पनि त मलाई ‘तिमी’ भन्छ नि ।
यस्तै विवादले रन्थनिएर कलेज आएकी उसले माइतीको कुरा पनि गरी । घर (माइती) जाँदा विकासलाई मीठो मसिनो खुवाउन बुबाआमालाई सानोतिनो हतारो हुँदैन । चुल्होमा म आफैं पस्नुपर्छ । यता (ससुराली घर) मा पनि यस्तो हालत छ । सम्पन्न भनिने परिवारकी पढेलेखेकी बुहारी हो कृतिका ।
सानो होस्, ठूलो होस्, पहाडमा होस्, तराईमा होस्, गाउँमा होस्, शहरमा होस्– विभेद भनेको विभेद नै हो ।
अर्की साथी छे सुमिना । पुस्करसँग सुमिना तीन वर्षदेखि प्रेममा छे । प्रेमीलाई ऊ सधैं तपाईं, कहिलेकाहीँ तिमी भन्छे । तर, पुस्करले सुमिनालाई तपाईं कहिले भन्दैन । बिहे गरेपछि सुमिनाले उसलाई ‘तिमी’ भन्न पाउने छैन । तर उसले जीवनभर तिमी, तँ भन्न पाउने छ । सुमिनालाई यो कुरा मन परेको छैन । तर भन्छे- एकैचोटि सबै परिवर्तन गर्न नसकिँदो रहेछ । त्यसमा पनि सोच परिवर्तन गराउन असाध्यै मुस्किल हुँदो रहेछ ।
अक्सर नेपाली प्रेम जोडी वा दम्पतीको अवस्था यही हो । शिक्षित र सचेत भनिएका युवतीले समेत यो विभेदलाई मौन स्विकारिरहेका छन् । विद्राेह गर्न खाेज्नेले दुःख पाइरहेका छन् कृतिकाजस्तै । फेरि पनि भन्छु, सानो होस् वा ठूलो, विभेद भनेको विभेदै हो ।

No comments